धरान/ “बाँच्न त मन छ तर औषधि किन्न सक्दिन,” भनेर भक्कानिन्छन् धरान–८, अरुण टोलका ४० वर्षीय रोशन राई।
फुलेको पेट, हाडछालामात्र भएको शरीर र मलिन अनुहारका साथ उनी महिनौँदेखि ओछ्यानमै थला परेका छन्। सानो झुपडीभित्र ओछ्यानमै जीवन र मृत्युको दोसाँधमा रहेका राई अस्पताल जानुपर्ने अवस्थामा छन्, तर आर्थिक अभावले गर्दा उनी घरमै बेसाहारा बनेका छन्।
कहिल्यै जंगल छिरेर दाउरा काट्ने, साँझ बजारमा बेच्ने काम गरेर श्रीमती र छोरीसहितको परिवार चलाउँदै आएका राई अहिले हातखुट्टा चलाउनसमेत नसक्ने अवस्थामा छन्।
श्रीमती शान्ति तामाङ घरको काममा व्यस्त रहन्थिन् भने छोरी शिवानी राई अहिले कक्षा ११ मा अध्ययनरत छन्।
बैशाखदेखि उनलाई जण्डिसले सतायो। त्यसपछि मृगौलामा पथरी देखियो।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउँदा चिकित्सकले लिभर फेर्नुपर्ने र मृगौलाको पथरीको पनि शल्यक्रिया गर्नुपर्ने बताए। तर यस्तो उपचारमा करिब १५ लाख रुपैयाँ लाग्ने भनिएपछि परिवारको आश नै मरेजस्तो भयो।
श्रीमती शान्ति भन्छिन्, “चिकित्सकले लिभर फेर्नुपर्छ भनेका छन्। तर हामीसँग त दैनिक खाना जोहो गर्नै गाह्रो छ। अहिले लिभरको ट्याब्लेट मात्र खुवाइरहेका छौं, बाँकी औषधि किन्ने पैसा छैन।”
छोरी शिवानीको पढाइ पनि संकटमा परेको छ। “बुबाको स्याहार गर्नु छ, आमालाई पनि एक्लै जिम्मा दिन सक्दिन। त्यसैले पढाइ पनि छाड्नुपर्ने जस्तो भइरहेको छ,” उनले भनिन्।
मंगलबार बिहान राईको घरमा पुगेका नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईका अनुसार श्रीमती शान्तिले भावुक हुँदै भनिन्, “श्रीमान् निको हुनुभयो भने फेरि दाउरा बेचेरै भए पनि छोरीलाई पढाउन सकिन्थ्यो।” अध्यक्ष राईले राईको उपचारका लागि संगठनले सहयोग अभियान सुरु गरेको जानकारी दिनुभयो।
यदि सिधै पीडित परिवारलाई सहयोग गर्न चाहनेहरू छन् भने रोशन राईकी श्रीमती शान्ति तामाङसँग ९७०८२५५३११ मा सम्पर्क गरेर सहयोग गर्न सकिनेछ।
नोट: एउटा श्रमिकको ज्यान बचाउन आजै हामी सधैंझैं न्यानो हृदय लिएर अघि बढ्न सकौं। तपाईंको सानो सहयोगले एउटा परिवारको जिन्दगी फेरिन सक्छ।