धरान/ धरानकी उदयीमान नृत्य कलाकार इचिङ्सा लिम्बुले अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता ‘मेरो डान्स युनिभर्स’ मा उत्कृष्ट १० मा स्थान बनाउन सफल भएकी छन्।
सोमबार सम्पन्न कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिँदै उनी प्रतियोगिताको भोटिङ चरणमा प्रवेश गरेकी हुन्।
झापाको बिर्तामोडमा भएको अडिसनबाट छानिएर प्रतियोगिताको यात्रा सुरु गरेकी इचिङ्साले विभिन्न शैलीका नृत्य प्रस्तुत गर्दै निर्णायकहरूको ध्यान खिच्दै आएकी छन्। प्रतियोगिता प्रारम्भमा उत्कृष्ट १३ सम्मको चरण पार गर्दै उनले उल्लेखनीय जनमत प्राप्त गरी उत्कृष्ट १० मा स्थान सुरक्षित गरेकी हुन्।
हाल काठमाडौंमा भइरहेको ‘मेरो डान्स युनिभर्स’ प्रतियोगितामा २५ भन्दा बढी देशका हजारौं प्रतिस्पर्धी सहभागी छन्।
ती प्रतिस्पर्धीहरूलाई पछि पार्दै इचिङ्सा अन्तर्राष्ट्रिय स्तरको मञ्चमा पुग्न सफल भएकी हुन्। उनी धरानबाट प्रतिनिधित्व गर्दै नेपालको सांस्कृतिक पहिचानलाई विश्व मञ्चमा चम्काइरहेकी छन्।
प्रतियोगिता इन्ट्रा-नेसनल वेल्फेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा भइरहेको हो। विजेताले १ करोड रुपैयाँ, दोस्रो स्थान प्राप्त गर्नेले ७५ लाख र तेस्रो हुनेले ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ।
इचिङ्सालाई समर्थन गर्न चाहने दर्शकले ‘My Intra Foundation’ एप डाउनलोड गरी उनको प्रोफाइलबाट भोट दिन सक्नेछन्। साथै, मोबाइलबाट MDU 03 टाइप गरी 37000 मा SMS पठाएर पनि भोट गर्न सकिने जानकारी इचिङ्साले दिएकी छन्।